गोरखाको छेकम्पारमा पहिरो, बुढीगण्डकी थुनिन सक्ने जोखिम

User Image Prime TV News २ हप्ता अगाडि
Image of गोरखाको छेकम्पारमा पहिरो, बुढीगण्डकी थुनिन सक्ने जोखिम

काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकम्पारमा सोमबार बिहान पहिरो गएको छ।

पहिरोका कारण बुढीगण्डकी नदी थुनिन सक्ने जोखिम रहेको भन्दै नदी आसपास तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। गृहमन्त्री सुधन गुरुङको सचिवालयले जारी गरेको सूचनाअनुसार सोमबार बिहान करिव १० वजे तिर छेकम्पारमा पहिरो गएको हो।

पहिरोका कारण बुढीगण्डकी नदी थुनिन सक्ने प्रारम्भिक सूचना प्राप्त भएको सचिवालयले जनाएको छ। नदी थुनिएर पानी जम्मा भएमा बाँध फुट्न सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको सूचनामा उल्लेख छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै बुढीगण्डकी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई खोला तथा नदी किनारमा नजान र सम्भव भएसम्म सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ। सरकारले यो प्रारम्भिक सूचना भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनालाई प्राथमिकता दिनसमेत आग्रह गरेको छ।

विपद् वा आपत्कालीन अवस्थाबारे जानकारी तथा सहयोग आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC) को टोल–फ्री नम्बर १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनास्थल र नदीको अवस्थाबारे निगरानी गरिरहेका छन्।