रसुवागढी–स्याफ्रुबेँसी क्षेत्रमा यात्रा नगर्न अमेरिकाको चेतावनी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका आसपासमा कुनै पनि कारणले यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।
अमेरिकी सरकारका अनुसार २०२६ अगस्ट २६ मा आएको ठूलो बाढीका कारण उक्त क्षेत्रमा सडक, यातायात तथा सञ्चार सेवा प्रभावित छन्। खोज तथा उद्धार र पुनःस्थापनाका काम जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी मूल्यांकन छ। प्रभावित क्षेत्रमा थप बाढी तथा पहिरोको सम्भावनासमेत रहेको जनाइएको छ।
अमेरिकाले उक्त क्षेत्रलाई ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखेको छ। यसमा भोटेकोशी, त्रिशूली तथा नारायणी नदी आसपासका बस्तीसमेत समेटिएका छन्। अमेरिकी सरकारले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान आफ्ना नागरिकलाई सुझाव दिएको छ।
नेपाली अधिकारीले उद्धार वा सुरक्षित स्थानतर्फ जान निर्देशन दिएमा त्यसको पालना गर्न पनि आग्रह गरिएको छ। त्यस्तै, विपद् प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी गर्न आफैं प्रवेश नगर्न र कुनै पनि कारणले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ।
अमेरिकी सरकारले नेपाललाई समग्रमा ‘लेभल–२ : थप सावधानी अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। यसको प्रमुख कारण नागरिक अशान्तिको सम्भावनालाई मानिएको छ। अमेरिकी मूल्यांकनअनुसार सन् २०२५ सेप्टेम्बरमा सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएका छन् र हाल सुरक्षा अवस्था तुलनात्मक रूपमा स्थिर छ। यद्यपि, विशेषगरी शहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति पुनः हुन सक्ने चेतावनी दिइएको छ।
प्रदर्शन छोटो सूचनामै सुरु हुन सक्ने र कतिपय अवस्थामा हिंसात्मक बन्न सक्ने भएकाले ठूलो भीड तथा प्रदर्शनबाट टाढा रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न अमेरिकी नागरिकलाई सुझाव दिइएको छ।







