माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धार चुनौतीपूर्ण, पानी र गेग्रानले बढायो समस्या
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोशी–त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धार चुनौतीपूर्ण बनेको छ।
उद्धारमा संलग्न टोलीका अनुसार सुरुङ पत्ता लागिसके पनि भित्रसम्म पुग्न नसक्दा उद्धार कार्य कठिन बनेको हो। नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवर्द्धित ६० मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङमा ३५ देखि ४० जना श्रमिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ।
उनीहरू पाँच दिनदेखि सुरुङभित्र फसिरहेको बताइएको छ। फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सुरुङ विज्ञ तथा प्राविधिकसहितको टोली परिचालन गरिएको छ। टोलीले सुरुङको स्थान पहिचान गरिसकेको भए पनि पानी, लेदो र गेग्रानका कारण भित्र प्रवेश गर्न सकेको छैन।
उद्धार टोलीले रातभरदेखि सुरुङ खन्ने कामलाई निरन्तरता दिइरहेको छ। उद्धारको नेतृत्व गर्दै फिल्डमा खटिएका सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार राति करिब ३ बजे सुरुङको क्राउन ब्लास्ट गरेर अवस्था बुझ्ने प्रयास गरिएको थियो। तर सुरुङको माथिल्लो भागसम्मै पानी भरिएको पाइएपछि तत्काल भित्र प्रवेश गर्न असम्भव देखिएको उनले बताए।
‘भित्र पानी नभएको भए यतिबेला हामी सम्भावित मानिसहरू फसेको ठाउँसम्म पुगिसकेका हुन्थ्यौँ। तर पानी भरिएकाले भित्र पस्न असम्भव भयो। हामी अर्को विकल्पमा काम गरिरहेका छौँ,’ न्यौपानेले बताए।
उनका अनुसार अहिले सुरुङभित्र जमेको पानी, लेदो तथा गेग्रान हटाउने काम भइरहेको छ। न्यौपानेका अनुसार सुरुङभित्र करिब ४० मिटर चौडाइ र ४० मिटर उचाइ बराबरको क्षेत्रमा ढुंगा, माटो तथा लेदो थुप्रिएको छ। उक्त गेग्रान हटाउन आवश्यक ठूला उपकरण घटनास्थलमा पुर्याउन कठिन भएको उनले बताए।
‘हामीलाई दुईवटा ठूला एक्स्काभेटर चाहिएको छ। तर हेलिकप्टरबाट ल्याउन सम्भव छैन। पार्टपुर्जा ल्याएर यहीँ एसेम्बल गर्ने हो भने पनि अरू केही दिन लाग्छ। त्यसैले जे उपलब्ध छ, त्यसैबाट काम गरिरहेका छौँ,’ उनले भने।
अहिले आयोजना स्थलमा उपलब्ध पुराना मेसिन तथा अन्य उपकरणको प्रयोग गरेर गेग्रान हटाउने काम भइरहेको छ। सुरुङमा जम्मा भएको पानी बाहिर निकाल्न पम्पिङ गर्ने तथा पानी ड्रेन गर्न आवश्यक स्थानमा ब्लास्टिङ गर्दै अघि बढ्ने प्रयास भइरहेको न्यौपानेले बताए।
सुरुङभित्र बेल्चालगायत सामान्य उपकरणको प्रयोग गरेर लेदो तथा माटो हटाइरहेको दृश्यसमेत सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। उद्धारमा संलग्न टोलीका अनुसार उपलब्ध स्रोतसाधन सीमित भएकाले काम अपेक्षित गतिमा अघि बढाउन कठिन भइरहेको छ।
न्यौपानेले अहिलेको गतिमा दिनभर काम गर्दा पनि सुरुङभित्र सम्भावित रूपमा मानिसहरू फसेको स्थानसम्म पुग्न कठिन हुन सक्ने बताए। त्यसैले उद्धार टोली वैकल्पिक उपायको खोजी गर्दै काम अघि बढाइरहेको छ।







