सुनको भाउ लगातार दोस्रो दिन घट्यो, तोलामा २ हजार ४ सयले सस्तियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको थियो।
त्यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ तथा बिहीबार १ हजार २ सय रुपैयाँ घटेको थियो। पछिल्लो चार कारोबार दिनमा सुनको मूल्य तोलामा १५ हजार ५ सय रुपैयाँले घटिसकेको छ।
सुनको मूल्य घट्दा चाँदीको भाउ भने आज स्थिर रहेको छ। हिजो तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाली बजारमा सुनको मूल्य यसअघि गएको माघ १५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि माघ १५ गते हालसम्मकै उच्च तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्यमा भने माघ १८ गते हालसम्मकै ठूलो एकदिने गिरावट आएको थियो। उक्त दिन चाँदीको भाउ तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।







