सुरुङमा फसेकाको ६ दिनसम्म उद्धार नभएपछि इन्जिनियर आक्रोशित, सरकार विरुद्ध दबाब अभियान

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुरुङमा फसेकाको ६ दिनसम्म उद्धार नभएपछि इन्जिनियर आक्रोशित, सरकार विरुद्ध दबाब अभियान

काठमाडौ । भोटेकोसी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका इन्जिनियर तथा श्रमिकको ६ दिनसम्म पनि उद्धार हुन नसकेपछि नेपाल इन्जिनियर्स एसोसिएसनले सरकारप्रति आक्रोश व्यक्त गरेको छ।

सरकारले उद्धारमा हेलचेक्र्याइँ गरेको आरोप लगाउँदै एसोसिएसनले सुरुङमा फसेका इन्जिनियर तथा अन्य कामदारको जीवनरक्षाका लागि दबाबमूलक अभियान सुरु गरेको हो। एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले सुरुङमा फसेका इन्जिनियर तथा श्रमिकको ज्यान सरकारले बचाउने विश्वास कमजोर हुँदै गएपछि अभियान सुरु गर्नुपरेको बताए।

एसोसिएसनले ‘सुरुङमा फसेका इन्जिनियर तथा अन्य कामदार गुमाउन चाहँदैनौँ’ भन्ने नारासहित सरकारमाथि दबाब बढाएको छ। ‘आज उनीहरू, भोलि हामी सुरुङभित्र फसेका इन्जिनियर र श्रमिकको जीवनका लागि आजै आवाज उठाऔँ,’ एसोसिएसनले सामाजिक सञ्जालमार्फत आह्वान गरेको छ।

अध्यक्ष बरालले सामाजिक सञ्जालमा सरकारलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हेलो सरकार, धेरै ढिलो भयो। तिमीमाथि विश्वास थियो तर अब डर लागिरहेको छ। हामी हाम्रा इन्जिनियर साथीहरू र अन्य सहयोगी कामदार गुमाउन चाहँदैनौँ।’

उनले विपत्तिमा परेकाहरूको जीवनरक्षाका लागि सबैलाई आवाज उठाउन आग्रह गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा प्राविधिक सहयोगका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको जनाएको छ।

तर, अध्यक्ष बरालका अनुसार एसोसिएसनले उद्धारका लागि सुरुदेखि नै पहल गरे पनि सरकारले अपेक्षित सहकार्य गरेको छैन। ‘सबै काम नेपाली सेनाले नियन्त्रण गरेको छ। सुरुङ र अन्य आयोजनाका विभिन्न क्षेत्रमा फसेका इन्जिनियर तथा कामदारको उद्धारका लागि पाँच दिनसम्म पहल नै सुरु भएन,’ बरालले भने, ‘निजी क्षेत्रले आफैं गर्छु भन्दा पनि दिइएको छैन। निजी क्षेत्रसँग भएका विशेषज्ञ तथा उपकरणहरू पनि लिइएको छैन।’

सुरुमा सरकारले उद्धारका लागि आवश्यक काम गरिरहेको र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने विश्वास रहेको भए पनि अहिले त्यो विश्वास कमजोर हुँदै गएको बरालको भनाइ छ  । भोटेकोसी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा करिब ६ सय इन्जिनियर, कामदार तथा कर्मचारी फसेको अनुमान गरिएको छ।

विपद् आएको ६ दिन पुग्दा पनि सरकारले सुरुङबाट एक जनालाई समेत उद्धार गर्न नसकेको एसोसिएसनको भनाइ छ। लाङटाङ, माथिल्लो त्रिशूली–१ लगायत ठूलो संख्यामा कर्मचारी तथा कामदार फसेका आयोजनामा समेत पाँचौँ दिनपछि मात्रै उद्धार प्रयास सुरु भएको बताइएको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा भने अझै उद्धार हुन सकेको छैन। आयोजनाका अनुसार सुरुङमा उद्धारका लागि आवश्यक हेभी इक्विपमेन्ट हेलिकप्टरमार्फत लैजानुपर्ने भए पनि त्यसका लागि हालसम्म अनुमति प्राप्त भएको छैन। सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ भइरहेका बेला आवश्यक उपकरण, प्राविधिक जनशक्ति तथा निजी क्षेत्रको विशेषज्ञता परिचालन गर्न सरकारलाई दबाब बढ्दै गएको छ।