रसुवा बाढीमा बेपत्ताको संख्या यकिन छैन : विपद् प्राधिकरण
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको यकिन संख्या अझै निर्धारण हुन नसकेको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले विभिन्न सरकारी तथा सम्बन्धित निकायबाट प्राप्त विवरण संकलन भइरहेकाले बेपत्ताको संख्या अझै घटबढ हुन सक्ने बताइन्। उनका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणमा ४ हजार २०२ जना बेपत्ता रहेको उल्लेख छ। तर खोजी तथा उद्धार कार्य जारी रहेकाले यो संख्या अन्तिम नभएको उनले स्पष्ट पारिन्।
‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ। स्थानीय पालिका, सीडीओ कार्यालयदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज र हाइड्रो आयोजनाबाट संख्या लिने गरेका छौँ,’ महतले भनिन्।
उनका अनुसार विभिन्न निकायबाट प्राप्त विवरणलाई समेटेर प्राधिकरणले तथ्यांक अद्यावधिक गरिरहेको छ। ‘मिसिङको संख्या अझै एक्ज्याक्ट थाहा नभएकाले हामीले करिब भन्ने गरेका छौँ,’ उनले भनिन्।
यसैबीच, बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजना तथा सुरुङमा फसेकाहरूको उद्धार जारी छ। प्राधिकरणका अनुसार हालसम्म हाइड्रोपावरका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो। सोमबार पनि विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रवक्ता महतले जानकारी दिइन्।
लाङटाङ हाइड्रोपावर आयोजनामा भएको क्षतिबारे भने अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको उनले बताइन्। ‘व्यक्तिहरूको खोजी भइराखेको छ। केही अझै थप हुनुहोला र कति मिसिङ भएको छ, त्यो मिसिङमध्ये यति नै एक्ज्याक्ट मिसिङ हो भनेर हामीलाई अलिकति भन्न गाह्रो नै छ। हामीले भएसम्म अपडेट गर्ने कोसिस गरिराखेका छौँ,’ महतले भनिन्।
प्राधिकरणका अनुसार रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ। त्यस्तै, १० हजारभन्दा बढीको उद्धार गरिएको छ भने २६७ जना घाइते भएका छन्। सम्पर्कविहीन तथा बेपत्ताको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ। प्रवक्ता महतका अनुसार अवरुद्ध सडकका लागि वैकल्पिक मार्ग पहिचान गरी आवागमन सहज बनाउने काम भइरहेको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार, राहत, हेलिकप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयलगायतका कामका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीबारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन्।
प्राधिकरणले बेपत्ताको यकिन विवरण संकलन तथा खोजी कार्यलाई प्राथमिकतामा राख्दै प्राप्त सूचनाका आधारमा तथ्यांक निरन्तर अद्यावधिक गरिरहेको जनाएको छ।







