नेपालले एसीसी पुरुष प्रिमियर कपमा विजयी सुरुवात

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपालले एसीसी पुरुष प्रिमियर कपमा विजयी सुरुवात

काठमाडौ । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ।

समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। बहराइनको ब्याटिङमा कुनै पनि खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।

फियाज अहमदले सर्वाधिक १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडन राख्दै १४ रन खर्चेर ५ विकेट लिए। ललित राजबंशीले ३ तथा करण केसीले २ विकेट लिए।

जवाफी ब्याटिङमा नेपालले सुरुदेखि नै सहज प्रदर्शन गर्‍यो। ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहे। रोहित पौडेलले १४ बलमा १९ रन तथा आसिफ शेखले १९ रनको योगदान दिए। खेल वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा सम्पन्न भएको थियो। पाँच विकेटसहित कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ नेपालको जितको मुख्य आधार बन्यो।