भारतीय रक्षामन्त्री राजनाथ सिंहले भनेः भारत सधैं नेपालको ‘सुख–दुःखको साथी'

User Image Prime TV News २ हप्ता अगाडि
Image of भारतीय रक्षामन्त्री राजनाथ सिंहले भनेः भारत सधैं नेपालको ‘सुख–दुःखको साथी'

काठमाडौ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरे। गत भदौ १० गते आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीयलगायत अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरे।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। नेपाल–भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै सिंहले भारत सधैं नेपालको ‘सुख–दुःखको साथी’ रहेको बताए।

उनले कठिन घडीमा पनि भारत नेपाली जनतासँग काँधमा काँध मिलाएर उभिएको र नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे।