बाढीको प्रभावले शेयर बजारमा भारी गिरावट, नेप्से ४३ अंकभन्दा बढी घट्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ।
विशेषगरी जलविद्युत कम्पनीहरूको शेयरमा उच्च गिरावट आउँदा समग्र नेप्से परिसूचकसमेत ४३ अंकभन्दा बढीले घटेको छ। सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ। जलविद्युत उपसमूह २.९४ प्रतिशत र निर्जीवन बीमा उपसमूह ५.०३ प्रतिशतले घटेका छन्।
यस दिन धितोपत्र तथा ऋणपत्र गरी कारोबारमा आएका ३४७ कम्पनीको ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीमा २६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स र चिलिमे हाइड्रोपावर कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बढ्ने कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्टको शेयर मूल्य ७.५७ प्रतिशतदेखि १३.१६ प्रतिशतसम्म बढेको छ। घट्ने कम्पनीतर्फ मैलुङ खोला जलविद्युत कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, एमबीएल इक्विटी फन्ड र चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य १०.४९ प्रतिशतदेखि १४.९८ प्रतिशतसम्म घटेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जलविद्युत आयोजनामा भएको क्षतिको समाचारसँगै जलविद्युत कम्पनीप्रति लगानीकर्ताको मनोभावमा नकारात्मक असर परेको देखिएको छ।







