संसद् बैठक आह्वानका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of संसद् बैठक आह्वानका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

काठमाडौ । संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ।

सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै संसद् बैठक तत्काल सञ्चालन गर्न आग्रह गरेका थिए। जवाफमा सभामुख अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुंगो लगाउने बताएका हुन्।

विपद्का कारण केही दिनका लागि सदन स्थगित गरिएको भए पनि अब तत्काल संसद् सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि संसद् आह्वान गरिने प्रतिबद्धता सभामुखले जनाएको उनले जानकारी दिए।

आङदेम्बेका अनुसार भेटका क्रममा विपद् व्यवस्थापन तथा राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य आफ्नो साथमा रहेको अनुभूति दिलाउन संसद् तथा संसदीय समितिहरूमार्फत सूक्ष्म निगरानी र आवश्यक निर्देशन दिनुपर्ने विषयसमेत आफूले उठाएका थिए।

उनले विपद् प्रभावित नागरिकसम्म राहत प्रभावकारी रूपमा पुर्‍याउन राज्यका संयन्त्रहरूको कामलाई संसद् र संसदीय समितिले निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिए।