भोटेकोशी बाढीमा ५४४ सवारीसाधन क्षतिग्रस्त, ५०१ श्रमिक सम्पर्कविहीन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।
बाढीपछि करिब ५०१ जना श्रमिक सम्पर्कविहीन रहेको समेत प्रारम्भिक विवरणमा उल्लेख छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार हालसम्म एक जना श्रमिकको मृत्यु पुष्टि भएको छ भने १७ जना सम्पर्कमा आएका छन्। उनका अनुसार करिब ५६३ जना श्रमिक बाढीबाट प्रभावित भएका छन्।
राईले उक्त तथ्यांक संगठनका सदस्यहरूको विवरणका आधारमा पारिवारिक रुटसम्म पुगेर संकलन गरिएको बताए। ‘हाम्रा सदस्यको विवरणका आधारमा पारिवारिक रुटसम्म पुगेर संकलन गरेको डाटा हो यो। खोज तथा उद्धारका लागि पनि हाम्रो टोली परिचालित छ। तर, अहिलेसम्म प्रगति देखिएको छैन,’ उनले भने।
सम्पर्कविहीन श्रमिकको संख्या अझै बढ्न सक्ने बताउँदै राईले तत्काल खोजी तथा उद्धार, प्रभावित परिवारलाई राहत, क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन र दीर्घकालीन पुनःस्थापनामा ध्यान दिनुपर्ने बताए।
यसैबीच, युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रमा काम गरिरहेका आफ्ना ९३ जना सदस्य सम्पर्कविहीन रहेको जानकारी दिए। उनका अनुसार अन्य व्यक्तिहरूको समेत अवस्था अझै यकिन हुन सकेको छैन।
नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले नेपाली यातायात मजदुरको अवस्था भयावह रहेको भन्दै प्रभावित श्रमिकको खोज तथा उद्धारमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए। यस्तै अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरेर काम गर्ने जनाएको छ।
आईटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघसँग भएको भर्चुअल बैठकमा आईटीएफ वर्ल्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी तथा उद्धारसँगै राहतका लागि आवश्यक सहयोग र समन्वय गरिने बताएका हुन्।
उनले आईटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई प्रभावित श्रमिकका लागि तत्काल आवश्यक योजना तयार गर्नसमेत आग्रह गरेका छन्।







