प्रधानमन्त्री राहत कोषको रकम प्रभावित क्षेत्रमा तत्काल पठाउन अर्थमन्त्री वाग्लेको निर्देशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम प्रभावित क्षेत्रमा तत्काल पठाउन निर्देशन दिएका छन्।
जनताले विश्वास गरेर राहत कोषमा जम्मा गरेको रकमको पूर्ण सदुपयोग हुनुपर्नेमा उनले जोड दिएका छन्। आज आयोजित एक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अत्यधिक प्रशासनिक प्रक्रियाका कारण राहत रकम निकासा तथा प्रभावित क्षेत्रमा पठाउन ढिलाइ भइरहेको बताएका हुन्।
‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ। कानूनले नमिल्ने गर्न मिलेन। मिल्ने कुरामा छिटो गरौँ,’ उनले भने, ‘मेयरबाट, सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहिँ पठाइहालौँ।’
राहत कोषमा रकम थुप्रिएको तर प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको धारणा जनतामा विकसित भइरहेको उनले बताए। ‘पब्लिक पर्सेप्सन के छ भने राहत कोषमा पैसा थुप्रिरहेको छ, यहाँ पैसा भएन भन्ने छ। हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौँ। यसलाई उद्धार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ,’ वाग्लेले भने।
सरकारले राहत रकम दुरुपयोग नगर्ने र प्रभावित नागरिकसम्म रकम पुग्ने विश्वासका कारण जनताले राहत कोषमा रकम जम्मा गरिरहेको उल्लेख गर्दै उनले राहत वितरणमा ढिलाइ गर्न नहुने बताए। अर्थमन्त्री वाग्लेले राहत रकम निकासाको विषयमा आजै आवश्यक काम अघि बढाउन मुख्य सचिवलाई समेत निर्देशन दिएका छन्।







