प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरुको व्रिफिङः कनेक्टिभिटीको अभाव र लेदो उद्धारका मुख्य चुनौती

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरुको व्रिफिङः कनेक्टिभिटीको अभाव र लेदो उद्धारका मुख्य चुनौती

काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकाहरूको उद्धारको अवस्था र देखिएका चुनौतीबारे प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

सोमबार बिहानदेखि प्रधानमन्त्री बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखहरूसँग छुट्टाछुट्टै भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीले प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिएका थिए। त्यस क्रममा सुरक्षा प्रमुखहरूले उद्धारका क्रममा फिल्डमा देखिएका चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

एक सुरक्षा निकायका प्रमुखका अनुसार भोटेकोशी नदीको बहावमा समय–समयमा भइरहेको परिवर्तन, प्रभावित क्षेत्रसम्म पुग्ने कनेक्टिभिटीको अभाव तथा नदी किनारमा थुप्रिएको लेदो उद्धार कार्यका प्रमुख चुनौती बनेका छन्। प्रधानमन्त्री बालेनले उद्धार कार्यलाई लिएर आलोचना हुन थालेको भन्दै आवश्यकताका आधारमा जतिसक्दो छिटो उद्धारमा ‘रेस्पोन्स’ गर्न निर्देशन दिएका थिए।

‘हामी सामूहिक रूपमा नै उद्धारमा खटिएको जानकारी गराएका थियौँ। चुनौतीबारे पनि जानकारी भयो। तर, उहाँको मुख्य कन्सर्न छिटो रेस्पोन्स हुनुपर्ने भन्ने थियो,’ ती अधिकारीले भने।

लेदोका कारण आवश्यक प्रविधिबिना उद्धारमा जाँदा सुरक्षाकर्मी स्वयं जोखिममा पर्न सक्नेबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। नदी किनारमा कतिपय शव देखिए पनि लेदोका कारण उद्धार टोली त्यहाँसम्म पुग्न नसकेको सुरक्षा प्रमुखहरूले बताएका थिए।

नदी किनारको क्षेत्रमा उत्खनन गरेर शव निकाल्नसमेत तत्काल सम्भव नरहेको निष्कर्ष सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै सरकारले उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। बाढीमा परेकाको तत्काल उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा राहत कार्यका लागि फिल्डमा खटिएका छन्।