एउटै घरबाट २३ जनाको शव फेला
Prime TV News २ हप्ता अगाडि 
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोशी बाढीले पुरिएको एउटै घरबाट २३ जनाको शव फेला परेको छ ।
मंगलबार खोज तथा उद्धारका क्रममा घरको माथिल्लो कोठाबाट २१ जना र घरबाहिरबाट थप दुई जनाको शव फेला परेको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
गत बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले तीनतले घर पुरेको थियो । बाढीबाट जोगिन घरको माथिल्लो तलामा बसेका मानिसहरू समेत बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
फेला परेका २३ वटै शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । तीमध्ये केही शव गोसाइँकुण्ड दर्शनका लागि गएका तीर्थयात्रीको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा थप बेपत्ताको खोजी तथा शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ ।







