भारतको नारायणी नदीमा भेटिए १३ वटा शव

User Image Prime TV News २ हप्ता अगाडि
Image of भारतको नारायणी नदीमा भेटिए १३ वटा शव

काठमाडौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने नारायणी नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ ।

कुशीनगर प्रशासनका अनुसार अहिलेसम्म नारायणी नदीमा १३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ६ पुरुष र ७ महिला रहेका छन् ।

बीबीसी हिन्दीका अनुसार ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने ठाउँ अभाव भएपछि सात शवलाई गोरखपुरस्थित एम्समा पठाइएको छ ।

थप शव फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतको राज्य विपद् प्रतिकार्य बल र राष्ट्रिय विपद् प्रतिकार्य बलका टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेका छन् ।

कुशीनगरका प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले स्थानीय प्रशासनले नेपाली अधिकारीसँग समन्वय गरिरहेको बताएकी छन् । उनका अनुसार विदेश मन्त्रालयमार्फत फेला परेका शवबारे नेपाललाई समेत जानकारी गराइएको छ ।

पोस्टमार्टम लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव नेपाललाई हस्तान्तरण गरिने प्रशासनले जनाएको छ । नेपालबाट शवको खोजी तथा पहिचानका लागि आउने परिवारलाई सहयोग गर्न कुशीनगर प्रशासनले नियन्त्रण कक्षसमेत स्थापना गरेको छ ।