मोदी–पुटिन भेटवार्ता : युद्ध अन्त्य गर्न शान्तिको पक्षमा भारत
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ।
किर्गिस्तानको राजधानी बिस्केकमा आयोजित एससीओ शिखर सम्मेलनका क्रममा भएको भेटमा दुई देशबीचको सम्बन्धसँगै रुस–युक्रेन युद्धबारे पनि छलफल भएको हो।
भेटमा मोदीले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न भारतले शान्तिका सबै प्रयासलाई निरन्तर समर्थन गर्ने बताए। उनले युद्धको प्रत्येक दिनले मानवतालाई पछाडि धकेलिरहेको भन्दै अब ‘अन्तहीन युद्ध’बाट ‘युद्ध अन्त्य’तर्फ अघि बढ्नुपर्ने धारणा राखे।
मोदीले भने, “युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेल्छ भने शान्तितर्फ चालिएका हरेक कदमले नयाँ आशा सिर्जना गर्छ।”
उनले युक्रेनको अवस्थाबारे पुटिनसँग यसअघि पनि छलफल भएको स्मरण गर्दै भारतले शान्तिका लागि हुने प्रयासलाई समर्थन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।
भेटका क्रममा मोदीले पुटिनको पछिल्लो भारत भ्रमण सफल र अविस्मरणीय रहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्य नयाँ उचाइमा पुगेको बताए। उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भारत र रुसले आगामी दिनमा पनि सहकार्य अघि बढाउने धारणा राखे।
मोदीले केही दिनपछि भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै पुटिनलाई भारत भ्रमणका लागि स्वागत गर्न भारतीयहरू उत्साहित रहेको बताए। पुटिनको भ्रमणले भारत–रुस सम्बन्धसँगै ब्रिक्सभित्रको संवाद र सहकार्यसमेत थप बलियो हुने उनको भनाइ थियो।
जवाफमा पुटिनले भारत र रुसबीचको सम्बन्ध निरन्तर बलियो बन्दै गएकोमा खुसी व्यक्त गरे। उनले दुई देशबीच विकसित व्यावसायिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन मोदीको विशेष ध्यान र योगदान रहेको भन्दै आभार व्यक्त गरे।







