प्रतिनिधिसभाको बैठक अनिश्चित हुँदा संसदीय क्यालेन्डर प्रभावित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ ।
क्यालेन्डरअनुसार सोमबार र मंगलबार प्रतिनिधिसभाको बैठक बस्नुपर्ने भए पनि बैठक कहिले बस्ने भन्ने टुंगो लाग्न सकेको छैन । भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो ।
संसदीय क्यालेन्डरअनुसार सोमबारको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची थियो । त्यसैगरी, शून्य समय सञ्चालन गर्ने तथा केही वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय गरिएको थियो ।
त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
मंगलबारको सम्भावित कार्यसूचीमा शून्य समय र विशेष समय सञ्चालन गर्नुका साथै मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषयसमेत समावेश थियो । तर, प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नसकेपछि निर्धारित कार्यसूची कार्यान्वयन हुन सकेन । यसैबीच, संसदीय क्यालेन्डर प्रभावित भएकोलगायत विषयमा छलफल गर्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रतिनिधिसभाको बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि तय गरिएको संसदीय क्यालेन्डरअनुसार आगामी बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो । बैठकमा शून्य समय सञ्चालन गर्ने विषय पनि समावेश गरिएको थियो ।
त्यसपछि बस्ने प्रतिनिधिसभाका बैठकका मिति र सम्भावित कार्यसूचीसमेत संसदीय क्यालेन्डरमा उल्लेख छन् । तर, बैठक अनिश्चितकालका लागि स्थगित भएकाले क्यालेन्डरअनुसारका कुनै पनि कार्यसूची कार्यान्वयन हुने अवस्था बनेको छैन ।







