सुदन किराँती समूहलाई नबोलाई श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक धरानमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज धरानमा सुरु हुँदैछ ।
बैठक धरानस्थित होटल गोर्खामा बस्दैछ । तर, बैठकमा सुदन किराँती समूहलाई भने निमन्त्रणा नगरिएको समूहका एक नेताले बताएका छन् । किराँती पक्षका एक नेताले आज बिहान नेपालखबरसँग भने, ‘अहिलेसम्म बैठकमा हामीलाई निमन्त्रणा गरिएको छैन ।’
पार्टी एकता हुँदा किराँतीलाई वरिष्ठ नेता बनाइएको थियो । उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य गरी १८ जना श्रम संस्कृति पार्टीमा समावेश भएका थिए । हाल दुवै पक्षका गरी श्रम संस्कृति पार्टीको केन्द्रीय समितिमा ४१ जना सदस्य छन् ।
किराँती पक्षका ती नेताका अनुसार पार्टी एकतापछि अध्यक्ष हर्क साम्पाङले आफ्नो फेसबुक पेज तथा कतिपय सञ्चारमाध्यममार्फत किराँतीलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । ‘पार्टी एकतालगत्तै अध्यक्ष हर्क साम्पाङको आफ्नै फेसबुक पेज र कतिपय मिडियाबाट पनि हाम्रो पार्टीका तर्फबाट मुख्यमन्त्री सुदन किराँती हो भनेर घोषणा पनि गरेको थियो,’ ती नेताले भने, ‘त्यो विषय आम पार्टी पंक्तिमा सर्वसहमतिजस्तै थियो र हरेक कार्यक्रममा भावी मुख्यमन्त्रीका रूपमा कार्यकर्ताले नाराबाजी गर्थे।’
उनका अनुसार पूर्वी नेपालमा हातेमालो कार्यक्रम लिएर किराँती पनि सुरुदेखि नै सक्रिय भएर लागेका थिए । त्यसपछि विभिन्न दलमा आबद्ध बहालवाला जनप्रतिनिधिसमेत पुरानो पार्टी छाडेर श्रम संस्कृति पार्टीमा आउने क्रम बढेको उनको दाबी छ ।
तर, पार्टी एकताको चार महिनामै किराँती समूहलाई केन्द्रीय समिति बैठकमा नबोलाइनुले पार्टीभित्रको सम्बन्ध र पछिल्लो राजनीतिक समीकरणबारे प्रश्न उठेको छ ।







