भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार विहान सम्म ९८७ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ वटा शव फेला परेका छन् । चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन् ।

बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी तथा भन्सार कार्यालयका कर्मचारीलगायत छन् । सम्पर्कविहीन हुनेमध्ये ५८३ जना विदेशी नागरिक रहेका छन् । त्यस्तै, विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । बाढीमा परी २७९ जना घाइते भएका छन् । उनीहरूमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत भदौ १० गते बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।