भोटेकोसी बाढीको सातौँ दिन पनि विद्युत् आयोजनाका सुरुङमा खोजी जारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोसी बाढीको सातौँ दिन पनि विद्युत् आयोजनाका सुरुङमा खोजी जारी

काठमाडौ । भोटेकोसी नदीमा बाढी आएको सातौँ दिन मंगलबार पनि प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य जारी छ ।

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञ तथा प्राविधिक टोलीको सहयोगमा नेपाली सेनाले विद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी राखेको हो । नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी करिब ५० मिटरसम्म पुगेर खोजी गरेको छ ।

त्यस्तै, लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरेको सेनाले जनाएको छ । अपर त्रिशूली–१ हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरेको छ ।

त्रिशूली–३ ए हाइड्रोमा सुरुङको हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने काम भइरहेको सेनाले जनाएको छ । सुरुङभित्र जमेको पानी निकाल्ने कार्य पनि जारी छ । सेनाका अनुसार तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ । रक ब्रेकर प्रयोग गरी सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने कार्य भइरहेको छ ।

त्रिशूली–३ बी हाइड्रोमा पनि विज्ञसहितको टोली परिचालन गरिएको छ । सुरुङमा प्रवेश गर्ने द्वार पत्ता लगाएर भित्र एक्साभेटरसमेत प्रयोग गरी खन्ने काम भइरहेको सेनाले जनाएको छ । बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न विद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ एबाट २२१ जना, माथिल्लो त्रिशूली–३ बीबाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको जीवित उद्धार गरिएको हो ।