भोटेकोसी बाढीमा मृत्यु भएका ७८ शव पोखरामा व्यवस्थापन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोसी बाढीमा मृत्यु भएकामध्ये पोखरा ल्याइएका ७८ वटा शव मंगलबार व्यवस्थापन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले ती शवलाई जमिनमुनि व्यवस्थापन गरेको हो । पोस्टमार्टम तथा डीएनए नमुना संकलनसहित पहिचानका लागि आवश्यक सम्पूर्ण प्रमाण सुरक्षित राखिएपछि पहिचान हुन नसकेका शवलाई सामूहिक रूपमा व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।
पोखरा महानगरपालिका–१६ जौबारीस्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरा क्षेत्रको जमिनमा ती शव व्यवस्थापन गरिएको हो । ‘डीएनए नमुना संकलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम गरिएको छ,’ प्रजिअ गुरुङले भने, ‘डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको हो ।’
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पहिचान हुन नसकेका शवलाई ‘पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’अनुसार व्यवस्थापन गरिएको हो । पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म १६ वटा शव पहिचान गरी आफन्तलाई बुझाइएको छ । बाँकी शवमध्ये ७८ वटा मंगलबार व्यवस्थापन गरिएको हो ।







