देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेपछि शेखरले बोलाए आफूनिकट नेताहरू

User Image Prime TV News २ हप्ता अगाडि
Image of देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेपछि शेखरले बोलाए आफूनिकट नेताहरू

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेपछि नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

देउवा समूहले महाधिवेशनको कार्यतालिका तय गर्न भोलि बैठक बोलाएको छ । उक्त बैठकअघि आफ्नो समूहको धारणा तय गर्न कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्न लागेका हुन् ।कोइराला समूहको बैठक काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा केहीबेरमा सुरु हुने एक नेताले जानकारी दिए ।

‘हाम्रो समूहको चाहना सुरुआतदेखि नै एकताको महाधिवेशन हुनुपर्छ भन्ने हो । त्यही प्रयासमा लागिरहेका छौँ । शेखर दाइले पनि त्यहीअनुसार वार्ता गरिराख्नुभएको छ,’ ती नेताले भने । उनका अनुसार सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवै एक–एक कदम पछि हटेर पार्टीभित्र एकताको वातावरण बनाउनुपर्ने कोइराला निकट नेताहरूको धारणा छ ।

‘अब एकताको महाधिवेशन नहुने भयो भने कतै न कतै हामी पनि लाग्नैपर्छ । एक–दुई दिन हेरौँ, त्यसपछि कता लाग्ने भन्ने हाम्रो समूहको निष्कर्ष आउँछ । आज शेखर दाइले त्यसैका लागि परामर्श गर्न बैठक राख्नुभएको हो,’ ती नेताले भने ।

यसअघि इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएर सम्बोधनसमेत गरेका कोइराला भने पार्टी विभाजनको पक्षमा नरहेको बताइन्छ । उनी पार्टीभित्रै सहमति र एकताको वातावरण बनाउनुपर्ने पक्षमा छन् ।