कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन १५ दिन लाग्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन १५ दिन लाग्ने

काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ ।

सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको सुझावका आधारमा १० देखि १५ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको हो । भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको थियो ।

तल्लो भाग कटान भएपछि माथिल्लो भूभागमा समेत चिरा परेर पहिरो खसेको सडक विभागले जनाएको छ । सडक विभागका सहसचिव चुणाराज ढकालसहितको टोलीले कृष्णभीर क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि ढकालले नदीमा आएको ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र त्यसको प्रभाव माथिल्लो भूभागमा समेत परेको बताए ।

‘यो राजमार्ग नेपालकै लाइफलाइन भएको हुनाले यसलाई उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ,’ उनले भने, ‘सबै विज्ञहरूको टिम बनाएर उहाँहरूको रायअनुसार र विभागको सम्पूर्ण टिम बसेर निर्णय गरेर सकेसम्म हामी १० देखि १५ दिनमा खुलाउन प्रयत्न गर्छौँ ।’

ढकालका अनुसार हाल वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । राजमार्ग तत्काल सञ्चालनका लागि प्रतिवेदन तयार गरी काम अघि बढाइने उनले बताए ।

‘राजमार्ग खुलाउन सडक विभागले यसलाई हाइप्रायोरिटी दिएको छ । आज हामी पनि हेरेर यसको एउटा प्रतिवेदन दिन्छौँ र तत्कालै यही राजमार्ग खुलाउने र पारीबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौं,’ उनले भने ।

सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद् प्रतिरोधी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । सहसचिव ढकालले नदीमा आउने उच्च बहावलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल निर्माण गर्ने र आवश्यक स्थानमा साना सुरुङ बनाउनुपर्ने बताए ।

सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरमा यसअघि पनि देखिएको ‘स्लोप फेलियर’ भएको क्षेत्रमा पहिरो दोहोरिएको बताए । तत्काल सडक सञ्चालनमा ल्याउन माथिल्लो भागमा रहेका जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने उनको भनाइ छ ।

प्रारम्भिक अध्ययनमा सडकको तल्लो भागमा नदी कटान हाल रोकिएको देखिएको आचार्यले बताए । ड्रोनबाट खिचिएका तस्बिरमा नदीतर्फको तल्लो भागमा बेडरक भेटिएको हुन सक्ने देखिएकाले माथिल्लो भागबाट डाइभर्सन निर्माण गरी सडक खोल्ने सम्भावना रहेको उनले बताए ।

नदीको कटान नियन्त्रणका लागि जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले ¥याप गर्ने प्रविधि प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्ता संरचनाले नदी कटान कम गर्नुका साथै विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग गर्नेछ ।

आचार्यका अनुसार सडक सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रबाट करिब सय मिटर लम्बाइ र १० देखि १५ मिटर उचाइसम्मको हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिन्छ ।तीन–चार वटा मेसिन परिचालन गरी तीव्र गतिमा काम गर्न सके १५ दिनभित्र सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए ।

‘पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिन्छ,’ आचार्यले भने, ‘सडकको भित्तो कटिङ गरेर केही माथिबाट सडक खुलाउन सकिने अवस्था छ ।’