भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन गरिने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचान हुन नसकेका शव काठमाडौंमा पनि व्यवस्थापन गरिने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार पहिचान खुल्न नसकेका शवलाई सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । ‘एउटा सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने भएका छौँ,’ पौडेलले भने ।
फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएका र पहिचान खुल्न नसकेका शव यसअघि चितवनमा व्यवस्थापन गरिएको थियो । भदौ १० गते आएको बाढीको तेस्रो दिनमै शवगृहको क्षमता नपुगेपछि सडक करिडोरमै शव कुहिने अवस्था आएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा करिब ६०० शव व्यवस्थापन गर्न सक्ने क्षमता मात्र छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९८७ वटा शव प्राप्त भइसकेका छन् । तीमध्ये करिब १०० वटा शव काठमाडौं ल्याइएको छ । काठमाडौंमा शव व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्न निकै समय लागेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
‘तीन–चार दिनको लगातार प्रयासपछि मात्र ठाउँ पत्ता लगाउन सक्यौँ,’ उनले भने । सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ अनुसार शव व्यवस्थापन गर्ने तयारी गरेको हो ।
निर्देशिकामा संकलित शवको मुचुल्का तयार गर्ने, प्रारम्भिक पहिचान गर्ने, थप विधिको प्रयोग गरी पहिचान तथा सनाखत गर्ने, अभिलेखीकरण गर्ने र शव व्यवस्थापन गरिएको स्थानमा संकेत चिह्न राख्नुपर्ने व्यवस्था छ ।
यसरी व्यवस्थापन गरिएका शवको डीएनए नमुना तथा अन्य आवश्यक विवरण सुरक्षित राखिने भएकाले भविष्यमा पहिचान खुलेमा कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउन सकिनेछ ।







