राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत पारित

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौ । राष्ट्रिय सभाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो ।

बाढीमा परी ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।

घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा मृतकका शवको वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ । त्यसैगरी, बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय सभाले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिलसमेत गरेको छ । विपद्को समयमा राष्ट्रिय एकता कायम गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तथा भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणका काम अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

सभाध्यक्ष दाहालले पेस गरेको उक्त विशेष प्रस्तावमाथि छलफलपछि राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो ।