सुरुङमा फसेकाहरूको उद्धारका लागि माथिबाटै खन्ने विकल्पमा पनि प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुरुङमा फसेकाहरूको उद्धारका लागि माथिबाटै खन्ने विकल्पमा पनि प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागबाट समेत खनेर उद्धार गर्न सकिने सम्भावनामा काम भइरहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले सुरुङमा फसेकाहरूको उद्धारका लागि सम्भावित सबै विकल्पमा प्रयास भइरहेको बताएका हुन् ।

‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर, बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौँ भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने । गृहमन्त्री गुरुङले सुरुङमा फसेका व्यक्तिहरूको उद्धारको आशा अझै नमारिएको बताए ।

‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौँ । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँकै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लागेको छ । हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गरिरहेको छ,’ उनले भने ।

उनका अनुसार उद्धारका लागि सुरक्षा निकाय तथा प्राविधिक टोलीले सम्भावित सबै उपायबारे अध्ययन तथा प्रयास जारी राखेका छन् ।