प्रतिनिधिसभामा आज भोटेकोशी बाढीबारे विशेष प्रस्ताव

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधिसभामा आज भोटेकोशी बाढीबारे विशेष प्रस्ताव

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसहित धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्।

विशेष प्रस्तावमार्फत बाढीमा परी ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति प्रतिनिधिसभाले दुःख व्यक्त गर्नेछ।

बैठकमा बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने विषयसमेत उठ्ने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने कार्यसुची रहेको छ ।