तिब्बतमा हिमनदी फुटेपछि जोखिम कायमै, थप बाढी र पहिरोको चेतावनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of तिब्बतमा हिमनदी फुटेपछि जोखिम कायमै, थप बाढी र पहिरोको चेतावनी

काठमाडौ । तिब्बतको केरुङनजिक हिमनदी फुटेर आएको बाढी र पहिरोपछि त्यस क्षेत्रको जोखिम अझै नघटेको विज्ञहरूले चेतावनी दिएका छन्।

नेपालमा उद्धार तथा राहतका काम जारी रहे पनि हिमनदी, चट्टान र पहाडको भू–बनोट अस्थिर रहेकाले थप क्षति हुन सक्ने उनीहरूको भनाइ छ।

इसिमोडका क्रायोस्फियर विश्लेषक प्रशान्त बरालका अनुसार हिमनदी र चट्टान खसेपछि बाँकी रहेका बरफका संरचना, फुटेका चट्टान र कमजोर बनेका डाँडाहरू अझै भत्किन सक्छन्। त्यसबाट थप लेदो र बाढी आउन सक्ने जोखिम रहेको उनले बताएका छन्।

अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका पर्वतीय भूगोलविद् अल्टन बायर्सले हिमनदी खसेको स्थानमुनि बनेको तालको धेरैजसो पानी बाहिरिसकेकाले तत्काल ठूलो बाढी आउने सम्भावना केही घटेको बताएका छन्। तर जोखिम पूर्ण रूपमा टरेको भने होइन।

बरालका अनुसार अहिलेको मुख्य जोखिम जम्मा भएर बसेको पानीभन्दा पनि वरपरका हिमनदी र चट्टान पुनः भत्किन सक्ने सम्भावना हो। त्यस्ता संरचना भत्किएमा ठूलो मात्रामा लेदोसहितको बाढी आउन सक्ने उनको भनाइ छ।

नेपाली र चिनियाँ वैज्ञानिकहरूको संयुक्त अध्ययनमा आधारित नयाँ प्रतिवेदनले पनि घटना हुनुभन्दा केही दिनअघि नै सम्भावित जोखिमका संकेत देखिएको जनाएको छ। प्रतिवेदनअनुसार हिमनदी पग्लिएर निस्किएको पानी धमिलो हुनु र चट्टानमा चिरा पर्नुजस्ता संकेत देखिएका थिए।

प्रतिवेदनले तल्लो तटीय क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली सञ्चालनमा रहेको भए धेरै मानिसलाई सुरक्षित स्थानमा सार्न सकिने उल्लेख गरेको छ। सीमाक्षेत्रमा पहिरो अत्यन्त तीव्र गतिमा खसेकाले तत्काल उद्धार गर्न कठिन भए पनि तल्लो क्षेत्रमा १० मिनेट वा त्यसभन्दा बढी समयअघि सूचना दिन सकिए यस्तो प्रणाली प्रभावकारी हुने विज्ञहरूको निष्कर्ष छ।

स्टिमसन सेन्टरका वरिष्ठ शोधकर्ता अस्टिन लर्डले भने घटना निगरानी गर्न कठिन हुने ‘ब्लाइन्ड स्पट’ क्षेत्रमा भएकाले यसको पूर्वानुमान गर्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन्।

उनले नेपाल र चीनबीच सीमापार प्राकृतिक जोखिमसम्बन्धी सूचना आदानप्रदान, सञ्चार तथा संयुक्त वैज्ञानिक अध्ययनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।