पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय, १५ दिनमा १ अर्ब २४ करोड घाटा हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय, १५ दिनमा १ अर्ब २४ करोड घाटा हुने

काठमाडौ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले नेपालमा इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको असाधारण बाढी तथा त्यसबाट उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनले भदौ १५ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलको ४ रुपैयाँ ३३ पैसा, मट्टितेलको १० रुपैयाँ १९ पैसा र हवाई इन्धनको ४ रुपैयाँ ९६ पैसा बढेको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा बढेर आएको निगमले जनाएको छ।

तर, बाढीपहिरोका कारण नागरिकले कठिन अवस्था भोगिरहेका बेला इन्धनको मूल्य बढाउँदा थप आर्थिक भार पर्ने भन्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो। नयाँ मूल्य भदौ १७ गते बिहान १२ बजेर १ मिनेटदेखि लागू भएको छ।

पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’ अर्थात् लागत बराबरको मूल्यमा बिक्री गर्ने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा खुद्रा मूल्य यथावत् राख्दा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

निगमले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा उपभोक्तालाई राहत दिने उद्देश्यले तत्काल मूल्य समायोजन नगरेको जनाएको छ।