दक्षिण कोरियाको ११ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाको ११ सदस्यीय विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ।
कोरियाली विपद् राहत टोली (केडीआरटी) खोज तथा उद्धारमा प्रयोग हुने आवश्यक उपकरण र तालिमप्राप्त कुकुरसहित नेपाल आएको हो।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार टोली कोरियाली विमानमार्फत नेपाल आइपुगेको हो। टोली बुधबार नै बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार कार्यमा सहभागी हुने जनाएको छ।
कोरियाली टोलीसँगै नेपाली सेनाको टोली पनि संयुक्त रूपमा उद्धार कार्यमा खटिने बस्नेतले जानकारी दिए। यसअघि पनि चार सदस्यीय कोरियाली उद्धार टोली नेपाल आइसकेको थियो। उक्त टोली अहिले बाढी प्रभावित क्षेत्रमा खटिएर खोज तथा उद्धार गरिरहेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि नौ जना कोरियाली नागरिकसमेत सम्पर्कविहीन रहेको बताइएको छ।
सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि थप जनशक्ति र उपकरणसहित कोरियाली टोली नेपाल आएको हो।







