कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ केन्द्रीय महाधिवेशन तयारीका विषयमा छलफल गर्न बुधबार बैठक बोलाएको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा बैठक बस्न लागेको हो।

बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिएका छन्।

बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषय र विविध गरी तीनवटा एजेन्डामाथि छलफल हुने तय भएको छ।

बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई बोलाइएको कुइकेलले बताए।

संस्थापन इतर समूहले आगामी महाधिवेशनको तयारी, पार्टीको आन्तरिक अवस्था र समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा तय गर्न बैठकलाई महत्त्वपूर्ण मानेको छ।