रसुवा बाढीबारे सरकारले संसद्लाई जानकारी गराउने

User Image Prime TV News १ हप्ता अगाडि
Image of रसुवा बाढीबारे सरकारले संसद्लाई जानकारी गराउने

काठमाडौ । रसुवामा गएको विनाशकारी बाढीबाट भएको धनजनको क्षति तथा सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुनःस्थापनाको तयारीबारे सरकारले आज प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट एक जना मन्त्रीले बाढीबाट भएको क्षति र उद्धार तथा राहतका विषयमा जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ। यद्यपि, कुन मन्त्रीले संसद्लाई जानकारी गराउने भन्ने टुंगो लागेको छैन।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले सरकारका तर्फबाट एक जना मन्त्रीले बैठकमा जानकारी गराउने अपेक्षा रहेको बताए। प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले रसुवा बाढीसम्बन्धी विशेष प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसअघि राजनीतिक दलका नेताहरूले बैठकलाई सम्बोधन गर्नेछन्। नेताहरूको सम्बोधनपछि सरकारका तर्फबाट मन्त्रीले बाढीबारे जानकारी गराउने तयारी छ। भदौ १० गते बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।

बाढीमा परी एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने स्वदेशी तथा विदेशी नागरिकसमेत ठूलो संख्यामा बेपत्ता छन्। बाढीबाट भएको क्षति, खोजी तथा उद्धार र प्रभावितको राहत तथा पुनःस्थापनाबारे संसद्मा विशेष छलफल हुन लागेको हो।

यसअघि मंगलबार राष्ट्रिय सभाले रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो। त्यसअघि राष्ट्रिय सभाका सांसदहरूले पनि विपद्का विषयमा धारणा राखेका थिए। यद्यपि, राष्ट्रिय सभाको बैठकमा सरकारका तर्फबाट बाढीबारे औपचारिक जानकारी प्रस्तुत गरिएको थिएन।

प्रतिनिधिसभामा भने सरकारका तर्फबाट मन्त्रीले बाढीको अवस्था, खोजी तथा उद्धार र राहत एवं पुनःस्थापनाका लागि भइरहेको तयारीबारे जानकारी गराउने अपेक्षा गरिएको संसद् सचिवालयले जनाएको छ।