नुवाकोटका बाढी प्रभावित विद्यालय अनिश्चितकालका लागि बन्द

User Image Prime TV News १ हप्ता अगाडि
Image of नुवाकोटका बाढी प्रभावित विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्।

बाढीबाट प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित रहेको जनाएका छन्।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत बेपत्ता रहेको, विद्यालयका संरचना, सडक र पुलमा क्षति पुगेको तथा आवतजावतमा कठिनाइ भएकाले तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बताए।

उनका अनुसार दैनिक जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सक्ने अवस्था भएपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ। विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने सूचना प्राप्त भए पनि यसको प्रभाव यति ठूलो होला भन्ने अनुमान गरिएको थिएन। त्यसैले क्षतिको आकार ठूलो भएको उनले बताए।

‘केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगिएका छन्,’ उनले भने, ‘अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ। केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउने योजना बनाउनेछौँ।’

त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकामा सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको प्रारम्भिक तथ्यांकअनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालय तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्।

त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन्। विद्यालयको एउटा ब्लक मात्र बाँकी रहेको जनाइएको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय र पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासका क्षेत्रमा समेत क्षति पुगेको छ। यी विद्यालय सञ्चालनमा पनि कठिनाइ भएको छ।

बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बससमेत बगाएको छ। किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि बाढीका कारण विस्थापितलाई राख्न दुई विद्यालयमा ‘होल्डिङ सेन्टर’ सञ्चालन गरिएको छ। बेलकोटगढीमा पनि एक विद्यालयमा विस्थापितका लागि ‘होल्डिङ सेन्टर’ बनाइएको छ।

बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं. ५ को महादेव माध्यमिक विद्यालयसमेत प्रभावित बनेको छ।