बाढीको त्रासदीबीच नेपालको अपिलः ‘पर्यटक नडराउनुस्, नेपाल भ्रमणका लागि खुला छ’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । विनाशकारी बाढीबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको नेपालले अन्तर्राष्ट्रिय पर्यटकलाई भ्रमण रद्द नगर्न आग्रह गरेको छ।
सरकारले बाढीबाट प्रभावित नभएका अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित रहेको जनाउँदै नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिएको हो। बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिको मूल्याङ्कन भइरहेका बेला पर्यटन क्षेत्रलाई चलायमान राख्न सरकारले यस्तो अपिल गरेको हो।
बाढीका कारण गाउँ, सडक तथा पुलमा पुगेको क्षति र ठूलो संख्यामा मानिस बेपत्ता भएको खबरले अन्तर्राष्ट्रिय पर्यटकमा नकारात्मक धारणा बन्न सक्ने भन्दै सरकारले पर्यटकलाई नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ। पर्यटन मन्त्री खडकराज पौडेलले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै ‘नेपाल कलिङ’ अभियानमार्फत विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान गरेका छन्।
उनले नेपालको हिमाली पदमार्गहरू पर्यटकको स्वागतका लागि तयार रहेको उल्लेख गर्दै अहिले नेपाल आउनु सामान्य छुट्टी मनाउने यात्राभन्दा पनि विपद्पछि पुनःउत्थानको प्रयासमा रहेको देशलाई सहयोग गर्नु भएको बताएका छन्।
“हाम्रा हिमाली पदमार्गहरू अझै पनि तपाईंहरूको पर्खाइमा छन्। यस पटक तपाईंहरू नेपाल आउनु केवल बिदा मनाउनु मात्र होइन। यो बाढीको विनाशकारी त्रासदीसँग लडिरहेको देशका लागि ठूलो सहयोग हो,” मन्त्री पौडेलले भनेका छन्।
गत साता आएको बाढीले केही क्षेत्रमा ठूलो क्षति पुर्याएपछि त्यसका तस्बिर र मानवीय क्षतिसम्बन्धी समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्राथमिकताका साथ सार्वजनिक भएका छन्। यसले बाढीबाट अप्रभावित पर्यटकीय गन्तव्यमा समेत पर्यटकको आगमन घट्न सक्ने चिन्ता बढाएको छ।
सरकारले भने विपद्बाट प्रभावित क्षेत्रबाहेकका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ। पर्यटन क्षेत्रमा आएको सम्भावित असरलाई न्यून गर्दै विदेशी पर्यटकको विश्वास कायम राख्न सरकारले प्रचार अभियानसमेत अघि बढाउने तयारी गरेको छ।
नेपाल यसअघि नै बढ्दो इन्धन मूल्य, सुस्त पर्यटन गतिविधि र कमजोर आर्थिक वृद्धिदरजस्ता चुनौतीसँग जुधिरहेको अवस्थामा बाढीले पुनःनिर्माणको थप दायित्व सिर्जना गरेको छ। प्राकृतिक विपद्बाट भएको क्षतिले सरकारमाथि उद्धार, राहतसँगै पुनःस्थापना र पुनःनिर्माणको दबाबसमेत बढाएको छ।
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। तीव्र बहावसँगै आएको लेदो, चट्टान र पानीले घर तथा भवनमा क्षति पुर्याउनुका साथै सडक, पुल, विद्युत्का संरचना र अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति गरेको छ।
यस विपद्मा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने स्वदेशी तथा विदेशी नागरिकसमेत बेपत्ता रहेको सरकारी विवरण छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ३९ देशका करिब ५९० जना विदेशी नागरिक बेपत्ता रहेको जनाइएको छ।
सरकारले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्रता दिँदै विपद्पछिको पुनःस्थापना र पुनःनिर्माणको तयारी अघि बढाइरहेको छ। यहीबीच पर्यटन क्षेत्रलाई निरन्तरता दिन सरकारले ‘नेपाल सुरक्षित छ र भ्रमणका लागि खुला छ’ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन थालेको हो।







