भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई थप ६ करोड ७५ लाख राहत
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो। यससँगै बाढी प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकाले १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाले २ करोड, कालिका गाउँपालिकाले ६० लाख र आमाछोदिङ्मो गाउँपालिकाले ४० लाख रुपैयाँ पाउनेछन्।
त्यस्तै, नुवाकोटका चार स्थानीय तहलाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकाले ३ करोड, बेलकोटगढी नगरपालिकाले १ करोड ५० लाख, किस्पाङ गाउँपालिकाले ५० लाख र तारकेश्वर गाउँपालिकाले १ करोड रुपैयाँ पाउनेछन्।
धादिङका चार स्थानीय तहका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनिघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराइनेछ।
यसैगरी, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ दिने निर्णय भएको छ। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनःस्थापनाका काम जारी छन्।







