भोटेकोसी बाढीमा ३ हजार ९१६ जना अझै सम्पर्कविहीन : प्रधानमन्त्री बालेन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीमा परी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते आएको बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको जानकारी दिएका हुन्। उनका अनुसार बाढी तथा पहिरोबाट जोखिममा परेका हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित १३ हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताए। सेना तथा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी हालसम्म ६९ उडानमार्फत ३५१ जनाको हवाई उद्धार गरिएको उनले जानकारी दिए।
हवाई उद्धारमा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा शारीरिक अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ। बाढीपछि विभिन्न अस्पतालमा पुर्याइएका २९२ घाइतेमध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेको र बाँकीको उपचार जारी रहेको प्रधानमन्त्री शाहले बताए।
नुवाकोटमा २ हजार ६५३ जनालाई अस्थायी आश्रय
बाढी तथा पहिरोका कारण विस्थापित भएकाहरूका लागि नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाका लागि खाने र बस्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले जानकारी दिए। त्यस्तै, अन्य प्रभावित ३ हजार ५०० जनालाई स्थानीय विद्यालय तथा सामुदायिक भवनमा राखिएको उनले बताए।
विपद्पछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन ११ लाखभन्दा बढी मोबाइल नम्बरमा एसएमएस तथा फोन कलमार्फत पूर्वसूचना पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिए। सरकारले प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहत, खोजी तथा उद्धार र पुनःस्थापनाका कामलाई तीव्रता दिएको उनले बताए।
यस्तै प्रधानमन्त्री शाहले सुरुङ भित्र फसेकाहरूको उद्धारमा समेत चुनौती रहेको बताएका छन्। सुरुङभित्र ठूलो मात्रामा लेदो थुप्रिएका कारण उद्धार कार्य कठिन बनेको उनले जानकारी दिए। सरकारले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई निरन्तरता दिँदै विस्थापितको व्यवस्थापन, राहत वितरण तथा पुनःस्थापनाका काम अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताए।







