सरकारमाथि भीष्मराज आङ्देम्बेको आरोपः ‘आफू एक्सन नगर्ने, अरूलाई पनि गर्न नदिने’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोसी बाढीपछि सरकारले प्रभावकारी उद्धार तथा व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले स्थानीय तह र विज्ञसँग आवश्यक समन्वय नगरेको तथा संकटका बेला सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाए।विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारमा भएको ढिलाइप्रति उनले सरकारको आलोचना गरे।
उद्धारमा समयमै पहल नगर्दा मानवीय क्षति भएको भन्दै उनले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाए। ‘आफू एक्सन नगर्ने, अरूलाई गर्न नदिने। अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने– सुरुङमा आफैँ खोज,’ आङ्देम्बेले प्रतिनिधिसभामा भने।
उनले सुरुङभित्र रहेका व्यक्तिहरूको मृत्यु सरकारको ढिलाइ र असंवेदनशीलताका कारण भएको हो कि होइन भन्ने प्रश्नसमेत उठाए।‘यो असंवेदनशीलता र ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या?’ उनले सभामुखसमक्ष प्रश्न गरे।
आङ्देम्बेले संकटका बेला सरकारले समयमा जोखिमयुक्त क्षेत्रमा पुग्न नसकेको आरोप लगाउँदै उद्धार कार्यमा भएको ढिलाइको जिम्मेवारी लिनुपर्ने बताए। उनले संकटमा परेका नागरिकको आवाज सरकारले सुन्नुपर्नेमा त्यसलाई दबाउने प्रयास भइरहेको आरोपसमेत लगाए।
‘संकटमा परेका नागरिकका आवाज सुन्ने कि दबाउने?’ उनले प्रश्न गरे। कांग्रेस नेता आङ्देम्बेले सरकार वास्तविक उद्धार र राहतको काममा केन्द्रित हुनुपर्नेमा सामाजिक सञ्जालमा बढी अल्झिएको आरोप लगाए। उनले विपद्का बेला स्थानीय तह, विज्ञ तथा सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे।







