प्रचण्डको प्रधानमन्त्री बालेनमाथि प्रश्नः ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो?
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्का सबै सांसदलाई विश्वासमा लिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्। प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा रसुवा बाढीबारे जानकारी गराएकोमा धन्यवाद दिँदै प्रचण्डले संकटका बेला सरकारको नेतृत्वले प्रतिपक्षी मात्र नभई सत्तापक्षका सांसदलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए।
‘सरकारको मुख्य नेतृत्व आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा धन्यवाद भन्छु। तर अरूलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्लाई विश्वासमा लिनु भनेको खाली प्रतिपक्षीलाई मात्रै होइन,’ प्रचण्डले भने।
उनले प्रधानमन्त्रीले संसद्मा सबै सांसदसँग संवाद र सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री आएर कसैसँग संवाद नगरी फर्किने शैली उचित नभएको उनको टिप्पणी थियो। ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो,’ प्रचण्डले भने।
‘प्रधानमन्त्रीलाई ठूलो अवसर छ, गुम्न दिनुहुँदैन’
प्रचण्डले प्रधानमन्त्री शाहले प्राप्त गरेको अवसरलाई खेर जान दिन नहुने बताए। देश संकटमा रहेका बेला लामो भाषणभन्दा प्रभावकारी नेतृत्व र सरकारको उपस्थित आवश्यक रहेको उनको भनाइ थियो।
‘उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन। राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने, यस्तो बेलामा गर्नुपर्ने संकल्प धेरै लामो भाषण होइन,’ उनले भने, ‘देशले नेतृत्व खोजेको छ। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्।’
उनले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै अहिलेको संकट समाधान नहुने बताए। ‘सोसल मिडियामा पोस्ट हैन। सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन,’ प्रचण्डले भने।
‘राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको’
देश संकटमा रहेका बेला राजनीतिक दल र राज्यका सबै अंगबीच एकता आवश्यक रहेको प्रचण्डले बताए। विपत्तिका बेला राज्यको उपस्थिति र राष्ट्रिय एकता देखिनुपर्ने भन्दै उनले त्यसको नेतृत्व गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उल्लेख गरे।
‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस्। एकजुट त मैले पारेर हुँदैन। हिजो त हुने जमाना थियो। अहिले अर्को जमाना आएको छ तपाईंहरूको,’ उनले भने। प्रधानमन्त्री शाहलाई आफू पनि प्रधानमन्त्री भएको स्मरण गराउँदै प्रचण्डले सबैको विश्वास जितेर अघि बढ्न आग्रह गरे।
‘तपाईंहरूको नेता प्रधानमन्त्री हाम्रो पनि प्रधानमन्त्री हो,’ उनले भने, ‘उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नुभएन भने समयले नपर्खिन सक्छ उहाँलाई पनि। यति ध्यान रहोस्।’







