रसुवा बाढीप्रति प्रतिनिधिसभाद्वारा दुःख व्यक्त, विशेष प्रस्ताव सर्वसम्मतिले पारित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभामुखले प्रस्तुत गरेको विशेष प्रस्तावमा भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी स्वदेशी तथा विदेशी नागरिकसमेत ठूलो संख्यामा बेपत्ता भएका छन् भने धेरैको ज्यान गएको छ।
प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। त्यस्तै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित तथा प्रभावित नागरिकको तत्काल उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बाढीका कारण घरबारविहीन भएका नागरिकको राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक कदम चाल्नसमेत सरकारलाई आग्रह गरिएको छ।







