कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी थालेको छ।

बुधबार चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको प्रस्तावित कार्यतालिकामाथि छलफल गरेको हो। बैठकमा आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते र पालिका अधिवेशन असोज २० गते गर्ने तयारी छ।

त्यस्तै, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ। इतर समूहले प्रस्तावित कार्यतालिकामाथि थप छलफल गरी आवश्यक निर्णय लिने तयारी गरेको छ।

यसअघि नेपाली कांग्रेसले पनि आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गर्दै आन्तरिक तयारी अघि बढाएको थियो। कांग्रेसभित्रको संस्थापन इतर समूह भने त्यसअघि नै छुट्टै महाधिवेशनको तयारीमा अघि बढेको हो।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र विवाद चर्किँदै आएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशनको तयारी अघि बढाएका छन्। पार्टीभित्रको विभाजनका कारण कांग्रेसको आगामी महाधिवेशन र त्यसबाट उत्पन्न हुने आधिकारिकताको विवादले थप राजनीतिक जटिलता निम्त्याउने देखिएको छ।