विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । हरेक वर्षको तीजमा चर्चित गायिका विष्णु माझीको गीतको प्रतीक्षा गर्ने दर्शक–श्रोता यसपटक पनि निराश हुनुपरेन।
तीज नजिकिँदै गर्दा माझीको स्वरमा नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ। वर्षभरि सार्वजनिक जीवनबाट टाढा रहने माझीले तीज वा दसैँको अवसरमा मात्रै गीत सार्वजनिक गर्दै आएकी छन्। त्यसैले उनका गीत नेपाली सांगीतिक क्षेत्रमा हरेक वर्ष विशेष चासोका साथ प्रतीक्षा गरिन्छ।
विष्णुको गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘अब बल्ल तीज आएजस्तो भयो’ भन्ने प्रतिक्रिया आउने गरेका छन्। यसपटक भने तीजअघि नै उनको स्वरमा ‘झोर्ले हजुर’ सार्वजनिक भएपछि नयाँ तीज गीत आउँछ कि आउँदैन भन्ने कौतूहल थियो। यहीबीच उनको स्वरमा ‘घरबार’ सार्वजनिक भएको हो।
माझीको आधिकारिक युट्युब च्यानलमार्फत गीतको अडियो टपिक सार्वजनिक गरिएको छ। गीतमा विशेषगरी महिलाले घरपरिवारमा भोग्नुपर्ने पीडा, वेदना र भावनात्मक संघर्षलाई प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ। माझीका गीतमा देखिने मौलिकता र भावनात्मक प्रस्तुति यसपटकको ‘घरबार’मा कस्तो छ भन्ने विषयमा पनि श्रोता–दर्शकको चासो बढेको छ।
‘घरबार’को म्युजिक भिडियो पनि छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ। अब भिडियोमा गीतको कथावस्तु र महिलाको पीडालाई कस्तो ढंगले प्रस्तुत गरिन्छ भन्नेमा दर्शकको कौतूहल बढेको छ।







