सडक भासिएपछि राजधानी बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सडक भासिएपछि राजधानी बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरका उद्योगमा सिलिन्डर भरेर पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न कठिन भएपछि विभिन्न कम्पनीले अन्य जिल्लाका ग्यास उद्योगसँग समन्वय गरेर सिलिन्डर भर्न थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेसनको एसटिसी ग्यास वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ। चितवनस्थित बाबा ग्यासले पनि मंगलबार श्री ग्यासका १ हजार ५०० सिलिन्डर भरेर पठाएको जनाएको छ।

श्री ग्यासको उद्योग धादिङको नौबिसेमा रहेको छ। त्यस्तै, साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका लागि १ हजार २०० सिलिन्डर भरेर पठाएको छ।

गैंडाकोटको जानकी ग्यास उद्योगमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यास उद्योगमा काठमाडौंका एभरेस्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालिएको छ।

ग्यास उद्योग सञ्चालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा ग्यास भरेर पठाउन थालेको छ। बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले पनि राजधानीबाहिर रहेका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्ति नघटेको बताए। बुलेटमार्फत ग्यास ल्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाइरहेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उनको भनाइ छ।

उनका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो। हाल पनि सोही अनुपातमा ग्यास आइरहेकाले आपूर्तिमा ठूलो समस्या नहुने उद्योगीहरूको दाबी छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र आसपासका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका विभिन्न ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर काठमाडौं पठाउन थालेका छन्।

उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरोधका कारण आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थामार्फत ग्यास पठाउने व्यवस्था गरिएको हो।