त्रिशूली–३ ‘ए’को सुरुङमा जम्मा भएको लेदो हटाउने तयारी तीव्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट सुरुङको प्रवेशद्वारमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ।
बाढीपछि १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार क्षेत्रमा ठूलो मात्रामा लेदो, बालुवा, ढुंगा तथा अन्य संरचनाका भग्नावशेष थुप्रिएका छन्। उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर नियन्त्रित विस्फोटमार्फत हटाइएको छ।
भदौ १३ गतेदेखि दुईवटा एक्स्काभेटर नियमित रूपमा परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बिम, पिलर तथा ठूला बोल्डर हटाइएको छ। आवश्यकताअनुसार ब्रेकर र नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा सफाइको काम भइरहेको छ।
न्यौपानेका अनुसार सुरुङको प्रवेशद्वारको माथिल्लो भागबाट करिब २ दशमलव ५ मिटर तलसम्मको करिब ५० मिटर क्षेत्र सफा भइसकेको छ। सुरुङ ५ दशमलव ५ मिटर अग्लो रहेकाले बाँकी करिब तीन मिटर गहिराइमा पहुँच तथा पानी निकास संरचना निर्माण गरेपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिनेछ।
सुरुङभित्र पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत
सुरुङको प्रारम्भिक अवलोकन गर्दा प्रवेशद्वारबाट करिब एक मिटरसम्मको भाग लेदोले भरिएको पाइएको छ। तर सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटर पानी बाहिर निस्किरहेको र पानीको दबाब नरहेको इन्जिनियर न्यौपानेले बताएका छन्।
यसले सुरुङभित्र ठूलो मात्रामा पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत गरेको छ। प्रवेशद्वारको बाहिरी भागमा गेटको स्ल्याब, दुईवटा ठूला काठका ठुटा र ठूला बोल्डरले अवरोध गरेको पाइएको छ।
प्रारम्भिक अवस्थाका आधारमा सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि सुरुङको भित्री अवस्था पूर्ण रूपमा यकिन हुन बाँकी रहेको जनाइएको छ।
सुरुङको भित्री संरचना सुरक्षित रहेको अनुमान
१६० मिटर लामो केबल डक्ट सुरुङमा प्रवेशद्वारबाट करिब ६० मिटरको दूरीमा एउटा घुम्ती रहेको छ। सुरुङ पावरहाउसतर्फ उकालो भएकाले यसको भित्री संरचना सामान्य र सुरक्षित रहेको प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलसम्म सडक पहुँच नहुँदा आवश्यक मेसिन, उपकरण र मर्मत सामग्री हेलिकप्टरबाट पुर्याउनुपर्ने अवस्था छ। यसका कारण केही सामग्री व्यवस्थापनमा समय लागे पनि उद्धार तथा सफाइको काम निरन्तर भइरहेको इन्जिनियर न्यौपानेले बताएका छन्।







