होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न ट्रम्पको सुझाव
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । इरानसँग तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्न सुझाव दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत होर्मुज स्ट्रेट अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै यसको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न सकिने बताएका हुन्। उनले नयाँ नाम अमेरिकाजस्तै पहिलेभन्दा बढी ‘हट’ हुने टिप्पणी गरेका छन्।
यसैबीच, होर्मुज स्ट्रेटमा तेल ट्यांकरमाथि आक्रमण भएको छ। साउदी अरबको एक पानीजहाज कम्पनीका अनुसार आक्रमणमा फिलिपिन्सका दुई नाविकको मृत्यु भएको छ।
ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान होर्मुज स्ट्रेटमा अज्ञात विमानले दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको थियो।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि इरानसँग दूरी कायम गर्न सबैलाई आग्रह गरेका छन्। उनले इरानी शासनलाई कुनै पनि प्रकारको समर्थन नगर्नु नै संघर्ष अन्त्य गर्ने सबैभन्दा छिटो उपाय भएको बताएका छन्।
उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले इरानको ‘नयाँ रणनीति’ सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उनले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीका क्षेत्रमा इरानको रणनीतिले अमेरिकालाई ठूलो चुनौती दिने दाबी गरेका छन्।
मंगलबार राति अमेरिकी सेनाले इरानका पश्चिम, दक्षिणपश्चिम र दक्षिणी क्षेत्रका प्रान्त तथा तटीय क्षेत्र र होर्मुज स्ट्रेटको पूर्वी भागमा आक्रमण गरेको बताइएको छ।
इरानी अधिकारीहरूका अनुसार होर्मुजको कोहस्ताक सहरमा भएको एक आक्रमणमा विवाह समारोहमा सहभागी चार जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिएका छन्।







