भोटेकोशी बाढीमा बेपत्ताको पहिचान गर्न प्रहरीले डीएनए परीक्षण थाल्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of भोटेकोशी बाढीमा बेपत्ताको पहिचान गर्न प्रहरीले डीएनए परीक्षण थाल्यो

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

गत भदौ १० गते आएको बाढीका कारण नदी किनार तथा तटीय क्षेत्रमा शव र मानव शरीरका विभिन्न अंग फेला परिरहेका छन्। क्षतविक्षत अवस्थामा भेटिएका शवको पहिचानमा कठिनाइ भएपछि प्रहरीले वैज्ञानिक विधिमार्फत मृतकको पहिचान गर्न डीएनए प्रोफाइलिङ प्रक्रिया सुरु गरेको हो।

नेपाल प्रहरीले सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका नजिकका रक्तसम्बन्धी आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

स्वदेशमा रहेका आफन्तले के गर्ने?

प्रहरीका अनुसार बेपत्ता नेपाली वा विदेशी नागरिकका पहिलो पुस्ताका नजिकका रक्तसम्बन्धी आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डीएनए परीक्षणका लागि नमुना दिन सक्नेछन्।

नमुना दिन जाँदा दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित हुनुपर्नेछ। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना संकलन गरिने प्रहरीले जनाएको छ। यसका लागि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

विदेशमा रहेका आफन्तले कसरी नमुना दिने?

विदेशमा रहेका गैरआवासीय नेपाली तथा विदेशी नागरिकका आफन्तले सम्बन्धित देशको आधिकारिक तथा मान्यताप्राप्त फोरेन्सिक प्रयोगशालाबाट अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ गराउनुपर्ने प्रहरीले जनाएको छ।

प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। इमेलमार्फत विवरण पठाउँदा निम्न जानकारी अनिवार्य रूपमा खुलाउनुपर्ने प्रहरीले जनाएको छ:

  • डीएनए नमुना दिने व्यक्तिको पूरा नाम र राष्ट्रियता।
  • राहदानी वा आधिकारिक परिचयपत्रको विवरण।
  • बेपत्ता व्यक्तिको नाम तथा हराएको मिति।
  • बेपत्ता भएको सम्भावित स्थान।
  • मान्यताप्राप्त प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलिङ रिपोर्ट।
  • डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक सम्बन्ध।

 दुई जना सम्पर्क अधिकारी तोकिए

डीएनए परीक्षण तथा सम्बन्धित परिवारसँग समन्वय गर्न नेपाल प्रहरीले दुई जना अधिकारीलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ।

प्रहरी निरीक्षक शम्भुबहादुर केसी: ९८४१६१६०९५
प्रहरी नायव निरीक्षक विष्णु घिमिरे: ९८५७०९१०१३ 

भोटेकोशी बाढीले ठूलो संख्यामा नागरिकलाई बगाएको र कतिपय शव तथा मानव अंग क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचानमा समस्या भइरहेको छ। यस्तो अवस्थामा वैज्ञानिक विधिबाट मृतकको पहिचान गरी शव परिवारलाई बुझाउन डीएनए परीक्षण प्रभावकारी हुने प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिने डीएनए नमुना र फेला परेका शव तथा मानव अंगबाट प्राप्त नमुनाबीच वैज्ञानिक परीक्षण गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ।