नारायणगढ–मुग्लिन सडकमा ढुंगा खस्यो, नयाँ पुलबाट यातायात सञ्चालन
Prime TV News १ हप्ता अगाडि 
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोला पुलनजिकै बिहीबार बिहान माथिबाट स–साना ढुंगा खसेका छन्।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पुलनजिकैको ढिकबाट ढुंगा खसेर पुरानो सडक प्रभावित भएको हो। कार्यालयले बिहान ९ः३५ बजे सूचना जारी गर्दै सडकमा खसेका ढुंगा पन्छाउने तयारी भइरहेको जनाएको छ।
स–साना ढुंगा मात्रै खसेकाले सडक सफा गरी यातायात पूर्ण रूपमा सहज बनाउन धेरै समय नलाग्ने सडक डिभिजनको भनाइ छ। ढुंगा खसेपछि पुरानो सडक प्रभावित भए पनि सोही स्थानमा निर्माण गरिएको नयाँ पुलबाट भने सवारीसाधनको आवागमन नियमित रूपमा भइरहेको छ। त्यसैले यात्रुहरू बीच बाटोमै रोकिएर बस्नुपर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ।
तर, सडकको माथिल्लो भागबाट थप ढुंगा खस्न सक्ने जोखिम रहेकाले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई सतर्कता अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ। कार्यालयले यात्राका क्रममा सडकको अवस्था बुझेर मात्रै अघि बढ्न र आवश्यक परे सुरक्षित स्थानमा सवारी रोकेर अवस्था यकिन गर्न अनुरोध गरेको छ।







