कृष्णभीरमा भासिएको सडक मर्मत सुरु, १८ जनाको टोली परिचालन

User Image Prime TV News १ हप्ता अगाडि
Image of कृष्णभीरमा भासिएको सडक मर्मत सुरु, १८ जनाको टोली परिचालन

काठमाडौ । रसुवामा आएको बाढीपछि भासिएको कृष्णभीरको सडक मर्मत कार्य बिहीबारदेखि अघि बढाइएको छ।

बाढी आएको चार दिनपछि गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएको थियो। सडक मर्मतका लागि अहिले पहिरो पन्छाउने तयारीसहित प्रारम्भिक काम अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सडकको दुवै छेउबाट गरी १८ जना कामदार परिचालन गरेर रूख कटानको काम भइरहेको छ। रूख कटान सम्पन्न भएपछि भासिएको सडक क्षेत्रमा जमेको पहिरो तथा अवरोध हटाउने काम सुरु गरिनेछ।

राजमार्ग अवरुद्ध भएपछि यस क्षेत्रमा यातायात सञ्चालन प्रभावित भएको छ। वैकल्पिक रूपमा हेटौंडा हुँदै काठमाडौं जोड्ने सडक सञ्चालनमा रहे पनि सबै सवारीसाधन त्यही मार्गबाट आवतजावत गर्दा सवारी चाप बढेको मन्त्रालयले जनाएको छ।

यातायात सञ्चालनलाई सहज बनाउन सडक मर्मतलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ। सडकको अवरोध हटाएर सकेसम्म चाँडो राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।