बालेनलाई हर्क साम्पाङको सुझाव : ‘सल्लाहकारको भर नपर, मेरो सुझाव अनुसार अघि बढ’

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेनलाई हर्क साम्पाङको सुझाव : ‘सल्लाहकारको भर नपर, मेरो सुझाव अनुसार अघि बढ’

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहलाई आफूले दिएको सुझावलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न आग्रह गरेका छन्।

उनले आफ्ना सल्लाहलाई बेवास्ता गरेर अन्य सल्लाहकारको भर पर्दा प्रधानमन्त्री शाह असफल हुन सक्ने चेतावनी दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले विगतमा पनि आफूले प्रधानमन्त्री शाहलाई सही सुझाव दिएको दाबी गरेका छन्।

आलोचना गरे पनि आफूले व्यवहारबाट शाहलाई माया र सद्भाव राख्दै आएको उनको भनाइ छ। साम्पाङले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै आफूले शब्दमा भन्दा व्यवहारमा माया देखाउने बताएका छन्। उनका अनुसार शाहलाई असफल बनाउने काम बाहिरका आलोचकले भन्दा पनि उनको वरिपरि रहेका व्यक्तिहरूले गरिरहेका छन्।

उनले प्रधानमन्त्री शाहलाई आफ्ना सल्लाहकारको सुझाव मात्र सुन्नुभन्दा आफ्नो सामाजिक सञ्जालमा राखिएका धारणा पनि अध्ययन गर्न आग्रह गरेका छन्। साम्पाङले काठमाडौंको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयमा विगतमा आफूले गरेको आलोचना स्मरण गराउँदै त्यस आलोचनाभित्र आफूले दिएको सुझाव बुझ्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘२७–२८ जना सल्लाहकारको कुरा सुन्नुभन्दा मेरो फेसबुकको वाल पढ्नू, अनि अघि बढ्नू।’ साम्पाङले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापनमा समस्या आएको समयसमेत सम्झाएका छन्। त्यतिबेला आफूले आलोचना गरे पनि त्यसको उद्देश्य समस्या समाधानका लागि सुझाव दिनु रहेको उनको दाबी छ।

रसुवा बाढीपछि उद्धार तथा राहत व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहेका बेला साम्पाङले आफूले यसअघि नै उद्धारसम्बन्धी विषयमा सुझाव दिएको दाबी गरेका छन्। उनले प्रधानमन्त्री शाहलाई आफ्नो आलोचनाभित्र रहेको सुझाव बुझ्न आग्रह गर्दै भनेका छन्, ‘मैले गरेको आलोचना देख्ने, तर त्यो आलोचनाभित्रको सुझाव नदेख्ने र नबुझ्ने?’

साम्पाङ र प्रधानमन्त्री शाहबीच यसअघि पनि सामाजिक सञ्जालमार्फत आलोचना र समर्थनका अभिव्यक्ति आदानप्रदान हुँदै आएका छन्।