मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हात पार्दै प्रतियोगिताको सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
बिहीबार यूकेएम यूएसडी ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले महत्वपूर्ण योगदान दिए। उनले ६८ बलमा चार चौकासहित अविजित ४५ रन बनाए।
इशान पाण्डेले २०, रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन जोडे। तेस्रो विकेटका लागि अर्जुन र इशानबीच ५७ रनको साझेदारी भएपछि नेपाल सहज जिततर्फ अघि बढेको थियो। मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो। उसका लागि कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन जोडे।
नेपालका करण केसीले प्रभावशाली बलिङ गर्दै चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे। लगातार दुई जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ र समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ। मलेसिया समान दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो। मलेसियाले भने आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले हराएको थियो। नेपालले समूह चरणको अर्को खेलमा आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित हात पार्न सके नेपालले सेमिफाइनलमा आफ्नो स्थान थप बलियो बनाउनेछ।







