लाङटाङ खोला जलविद्युत् आयोजनामा दुई कर्मचारीको शव भेटियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of लाङटाङ खोला जलविद्युत् आयोजनामा दुई कर्मचारीको शव भेटियो

काठमाडौ । रसुवामा बाढीपछि सम्पर्कविहीन भएका लाङटाङ खोला जलविद्युत् आयोजनाका दुई जना कर्मचारीको शव भेटिएको छ।

परीक्षण सञ्चालनको चरणमा रहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढी आएपछि दुई कर्मचारी सम्पर्कविहीन भएका थिए। उनीहरूको शव आयोजनाभित्रै फेला परेको हो।

आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले दुई कर्मचारीको शव भेटिएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार कर्मचारीहरू आयोजनाको सुरुङभित्र नभई सुरुङ र पावरहाउसबीचको पेनस्टक पाइपमा काम गरिरहेका थिए।

‘दुई जनाको शव भेटियो भन्ने खबर आएको छ भर्खरै। हाम्रै कर्मचारी हुनुहुन्छ,’ आचार्यले भने। उनका अनुसार आयोजनाको सुरुङ बन्द भइसकेको र त्यहाँ मानिस प्रवेश गर्ने अवस्था नरहेकाले कर्मचारीहरू सुरुङभित्र फसेका होइनन्।

फेला परेका शवको सनाखत तथा अन्य कानुनी प्रक्रिया भने पूरा गर्न बाँकी रहेको जनाइएको छ। लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि अझै ३९ जना सम्पर्कविहीन रहेको बताइएको छ। यसअघि १९ जनाको उद्धार गरिएको थियो।

बाढीपछि आयोजनाको क्षेत्रमा ठूलो क्षति पुगेकाले सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।